गोदावरी नगरपालिकाको पहाडी गाउँ बस्तीमा बल्यो बिजुली

AgniSachi Media:
Pin Share

कैलाली- बस्ती बसेको चार दशकपछि कैलालीको गोदावरी नगरपालिकाको पहाडी गाउँ बस्तीमा विद्युत् विस्तार भइरहेको छ । नजिकको छिमेकी बजार अत्तरियाको बिजुली हेरेर जिन्दगी बिताउन विवश १२ नम्बर वडाको पहाडी क्षेत्रका स्थानीय बासिन्दा आफ्नै घरमा बिजुलीका चिम बल्न थालेपछि हर्षित भएका हुन ।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको सुगम जिल्ला कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ सिम गाउँका स्थानीय कर्णबहादुर खत्रीले घरमा विद्युत् जडान भएपछि निकै खुसी भएको बताए । आइतबार उनको घरमै पुगेका प्रदेशसभा सदस्य तुलसी देवकोटा र गोदावरी नगरप्रमुख वीरेन्द्र भट्टले विद्युत् स्विच खोलेर सो क्षेत्र आसपासमा विद्युतको शुभारम्भ गरेका थिए । घरमा विद्युत् जडान भएपछि लामो समयको प्रतीक्षा सकिएको बताउँदै खत्रीले भने–‘उज्यालोको लागि हामी सोलार, टुक्की मुक्त मात्रै भएका छैनौँ, वर्षौँदेखि अँध्यारोमा बस्नुपर्दाका समस्याबाट समेत मुक्त भएका छौं ।’

विद्युत् नहुँदा मोबाइल चार्ज गर्नेदेखि बच्चाहरूलाई पठनपाठनमा समस्या थियो, अब बिजुली बलेपछि सहज भएको भन्दै अर्का स्थानीय थिरबहादुर कार्कीले गाउँमा विद्युत् विस्तारपछि निकै खुसी लागेको बताए । आफूहरूको बस्ती पुरानो भए पनि ढिला गरी विद्युतको उज्यालोमा बस्ने सपना पूरा भएको उनको भनाइ थियो ।

विद्युत् वितरण केन्द्र धनगढीले आइतबारदेखि उक्त वडाका चौकी, सिम, चाप र सल्ली गाउँमा ११ केभी विद्युत् लाइन विस्तार गरेको छ । जसमध्ये सिममा शाखा लाइन विस्तार गरेर ३० घरमा बिजुली बलेको छ भने अन्य ठाउँमा शाखा लाइन विस्तारको काम जारी रहेको वितरण केन्द्रले जनाएको छ ।

वडाको पहाडी क्षेत्रमा बस्ती छरिएर रहेकोले विकास निर्माणका काम गर्न निकै अप्ठ्यारो रहेको भन्दै वडा अध्यक्ष भीमबहादुर खड्काले विकासको मुख्य आधार विद्युत् विस्तार भइरहेकाले उत्साह थपिएको बताए । सिम गाउँपछि अहिले चाप, सल्लीलगायतका बस्तीमा शाखा लाइन विस्तारको काम जारी रहेको र नाइलमा मुख्य लाइन विस्तारका लागि विद्युत् पोल ढुवानी भइसकेको उनले जानकारी दिए ।

गोदावरी नगरपालिका प्रमुख भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्ती उज्यालोमा आएको भन्दै अन्य विकास निर्माणका कार्य पनि सङ्घ, प्रदेश सरकारसँग समन्वय गरेर अघि बढाइने बताए । उनले सिम, चाप र सल्ली गाउँमा एक सय पचास घरपरिवारमा विद्युत् पुगेकाले अब छिटै असी÷बयासी परिवार बसोबास रहेको नायलमा विद्युत् विस्तार गरिने बताए । नगरका सबै ठाउँमा विद्युत् विस्तार गर्न अझै ६ सय विद्युत् पोल आवश्यक रहेको उनको भनाइ छ ।

विकट गाउँ बस्तीको विकास एकै पटक हुन नसक्ने भन्दै प्रदेशसभा सदस्य तुलसी देवकोटाले केही समय कुर्न आग्रह गरे । विकटता हेरेर विकासका काम न्यायोचित हुनुपर्नेमा उनको जोड थियो । बाहिर मान्छेलाई कैलालीको गोदावरी भनेपछि सुगम होला भन्ने लाग्छ । तर यहाँका पहाडी क्षेत्रमा अझै आधारभूत आवश्यकता पूरा हुन सकेका छैनन् ।

Leave a Reply