गुण्डा नाइके कुमार घैँटेका सहयोगी सक्रिय, ठमेलमा मच्चाए बबन्डर युवराज गुरुङ आफ्नै समूह बनाउँदै पुरानै धन्दामा सक्रिय

AgniSachi Media:
Pin Share

गुण्डा नाइके कुमार घैँटेका सहयोगी सक्रिय, ठमेलमा मच्चाए बबन्डर (भिडियो सहित)

काठमाडौं । गुण्डागर्दी पृष्ठभूमिका युवराज गुरुङ उर्फ सानुभाइ फेरि पुरानै धन्दामा सक्रिय भएका छन् ।  नुवाकोट ककनी– ५ का सानुभाइ भनिने युवराज गुरुङसहितको समूह सक्रिय रहेको पछिल्ला केही आपराधिक घटनाले पुष्टि गरेको हो ।

प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै गुण्डा नाइके कुमार श्रेष्ठउर्फ ‘घैँटे’ का प्रमुख सहयोगी गुरुङसमूह बनाउँदै गुण्डागर्दीमा सक्रिय हुन थालेका हुन् । गुरुङसहितको समूहले शनिबार ठमेलको छाया सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा वितण्डा नै मच्चाएको भिडियो बाह्रखरीलाई प्राप्त भएको छ । 

भिडियोमा देखिएका सानुभाइ, शेरलाल पौडेल र नुवाकोटकै कमल तामाङले एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको देखिन्छ । उनीहरूविरुद्ध पीडित युवाले ज्यान मार्ने उद्योग मुद्दामा प्रहरी वृत्त दरबारमार्गमा उजुरीसमेत दिएका छन् । तर, उनीहरू फरार छन् ।

यसअघि गुरुङ समूहले २२ असारमा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि क्लबमै कुटपिट गरेको थियो । त्यतिबेला काठमाडौं प्रहरीले घटनामा संलग्न युवराज गुरुङसहित आठ जनालाई पक्राउ गरेको थियो ।  त्यही समूहले फेरि शनिबार छायाँ सेन्टरको क्लबमासमेत बबन्डर मच्चाएको हो ।

त्यतिबेला प्रहरीले नुवाकोट ५ ककनीका निरज गुरुङ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का कमल तामाङ, काठमाडौं टोखा नगरपालिका–१० का विक्रम अधिकारी, तनहुँ  व्यास नगरपालिका– २ का ३२ वर्षीय सुवास कायस्थ, त्यहीका ३२ वर्षीय सुरज कायस्थ र शेरलाल पौडेल, रघु तामाङ तथा विनोद तामाङलाई पक्राउ गरेको थियो । उनीहरू गत साउन १० मा धरौटीमा छुटेका थिए ।
 
यस्तो छ, गुरुङको अपराधिक पृष्ठभूमि

युवराज गुरुङ विभिन्न आपराधिक घटनामा संलग्न हुँदै आएका आरोपी हुन् । यसअघि उनी प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै गुण्डा नाइके कुमार घैँटेका प्रमुख सहयोगी भएर हिँड्थे । उनले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई गोली प्रहार गरेका थिए । उक्त अभियोगपछि फरार सानुभाइलाई २०७२ मा प्रहरीले ‘बुलेटप्रुफ ज्याकेट’ लगाएर हिँडिरहेको अवस्थामै पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले लोड गरिएको पेस्तोलसमेत बरामद गरेको थियो ।  सानुभाइकै समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जितबहादुर कार्कीमाथिसमेत आक्रमण गरेको प्रहरीको रेकर्डमा छ ।

पछिल्लो समय अधिकांश गुण्डा नाइकेहरू आपराधिक गतिविधि छाडेर राजनीतिमा सक्रिय छन् ।  सानुभाइले भने आपराधिक गतिविधि विस्तार गर्दै गर्न लागेको प्रहरी अधिकारीहरूनै बताउँछन् । उनीहरूले पछिल्लो समय प्रहरी वृत्त सोह्रखुट्टे र प्रहरी वृत्त दरबारमार्गका प्रहरी अधिकारीसँग हिमचिम बढाउँदै आपराधिक क्रियाकलापमा सक्रिय हुन थालेको केही प्रहरी अधिकारी नै बताउँछन् ।

कामठाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले आरोपीहरूको खोजी कार्य जारी रहेको जानकारी दिए । “घटना भएको सूचना पाएका छौं । हामी खोजी गरिरहेका छौं, केही व्यक्तिको पहिचान खुलेको छ,” खत्रीले भने ।

कांगे्रसको तरुण दलको राजनीतिका हिँड्ने गुरुङसहितको समूहको कांगे्रसका उच्चतहका नेताहरूसँगसमेत नजिकको हिमचिम छ । त्यही आडमा उनीहरू आपराधिक धन्दामा लागेका हुन् । 
 

Leave a Reply