देउवाको मृत्युको अनुसन्धान गर्न विज्ञ टोली परिचालन

AgniSachi Media:
Pin Share

माघ १३ धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा अनुसन्धान गर्न विज्ञ टोली परिचालन गरिएको छ । पुस २५ गते राती कैलालीको अत्तरियामा रहेको न्यू दोहोरी साँझबाट निस्किएका देउवाको मृत्यु प्रकरणमा अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्ट नेतृत्वको विज्ञ टोली परिचालन गरिएको हो । प्रदेश कार्यालय महेन्द्रनगरबाट विज्ञ टोली खटाएर घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जानकारी गराएको छ ।

विज्ञ टोलीले देउवाको मृत्यु प्रकरणमा पक्राउ गरिएका ६ जना अभियुक्तहरूको पोलिग्राफ परीक्षण लगायतका काम सकेको बताईएको छ । विज्ञ टोलीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको बताईएको छ । साथीसँगै अत्तरियास्थित न्यू दोहोरी साँझमा गएका देउवाको अन्य व्यक्तिसँग विवाद भएपछि घर जान भन्दै बाहिर निस्किएको बताईएको छ ।

उनीसँगै गएका कृष्णपुरकै टेकबहादुर नायक मोबाइल दोहोरी साँझमै छुटेको भन्दै ल्याउन गएका बेला देउवा त्यहाँबाट एक्लै हिँडेको बताईएको छ । देउवालाई नदेखे पछि उनकै मोटरसाइकल चढेर नायक होटेलमा सुत्न गएको बताईएको छ । भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा भेटिएका देउवाले फोन गरेपछि आफन्तले घर लगेको बताईन्छ । शरीरमा चोटपटक देखे पछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएको र उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

देउवाको मृत्यु भए पछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसँगै ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो । कैलाली प्रहरीले नायक सहित गोदावरी नगरपालिका वडा नम्बर–१ का २७ वर्षीय विनोद शाह, गोदावरी नगरपालीका वडा नम्बर–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका वडा नम्बर–९ बस्ने ३८ वर्षीय रामबहादुर ऐरलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

 

Leave a Reply